रवि लामिछाने आज चितवनमा, दिउँसो काठमाडौं फर्किएर शहीद परिवारसँग भेटघाट

५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने चितवनको भरतपुर महानगरपालिका–स्थित चौबिसकोटीमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले विशेष तथा छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम सकिएपछि सभापति लामिछाने दिउँसो काठमाडौं फर्किने छन् । काठमाडौं आएपछि उनले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूसँग भेटघाट सुरु गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

प्रवक्ता झाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा सभापति लामिछानेको स्वागत कार्यक्रम आयोजना गरिने उल्लेख गरेका छन् ।

उल्लेखनीय छ, सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार मात्रै बिगो रकम बुझाएर शर्तसहित रिहा भएका हुन् । उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।